असोज ९ गते नै पालिका अधिवेशन गर्ने कांग्रेसको निर्णय

नेपालखोज २०७८ असोज ६ गते १८:२९

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय अर्थात ९ गते नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढीसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको बताए । उनले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुंगो लगाउने निर्णय भएको पनि बताए । पार्टीको पालिका स्तरीय अधिवेशन पछिका अन्य अधिवेशनहरुको हकमा केन्द्रिय समितिले आवश्यकताअनुसार अघि बढाउँदै जाने पनि निर्णय भएको उनले बताए ।

प्रवक्ता शर्माले देशभरका नेपाली काँग्रेसका कार्यत्रर्ताहरुलार्ई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह गरेका छन् । उनले सर्वसम्मत रुपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने स्थानमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुंगो लगाउन अपील पनि गरे ।

प्रतिक्रिया