मंगलबार, असार १७, २०८२

प्रत्यायोजित विधायनसम्बन्धी मस्यौदा विधेयक परिमार्जन गर्न निर्देशन

नेपालखोज २०७८ असोज ६ गते १८:४८

काठमाडौं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायनसम्बन्धी मस्यौदा विधेयकलाई परिमार्जन गरेर ल्याउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

मस्यौदा विधेयकका विषयमा छलफल गर्न बुधबार आयोजित बैठकमा सभापति रामनारायण विडारीले मस्यौदा विधेयकलाई परिमार्जनसहित छिटो अन्तिम रूप दिएर पेस गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् । विधेयकलाई सिलसिला मिलाएर भाषागत रूपमा परिमार्जन गरिनुपर्ने उनको भनाइ थियो । सांसद् राधेश्याम अधिकारीले विधेयक भद्रगोलरूपमा आउँदा यसको आवश्यकता छ कि छैन भन्ने प्रश्न उठेकाले परिमार्जन गरेर ल्याउनु पर्नेमा जोड दिएका छन् ।

त्यस्तै, सांसद डा खिमलाल देवकोटाले विधेयकमा प्रयोग भएका भाषाले पढे लेखेकै मानिसले नबुझ्ने खालका भएको उल्लेख गर्दै सामान्य नागरिकले पनि बुझ्न सक्ने गरी परिमार्जन गर्न सुझाव दिएका थिए । बेलायतको कानुन बनेको तीनदेखि पाँच वर्षसम्ममा समीक्षा गर्ने गरिएको उदाहरण प्रस्तुत गर्दै देवकोटाले त्यस्तो अभ्यास सुरु गर्नुपर्नेमा जोड दिए ।

सांसद तुलसाकुमारी दाहालले विधेयकका लागि गृहकार्य सुरु भइसकेकाले परिमार्जनसहित छिटो अन्तिम रूप दिनुपर्नेमा जोड दिएकी थिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीले वैयक्तिक स्वतन्त्रतालाई सीमित गर्ने विषय नियमावलीमा मात्र ल्याएर नपुग्ने भएकाले ऐन नै बनाए ।

त्यस्तै, मन्त्रालयका सचिव उदयराज सापकोटाले ७० वटा नियमावली संशोधन गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिए । धेरै आदेश विसं २०१२ देखि २०२२ मै बनेकाले संशोधन गरिनुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

प्रतिक्रिया