शुक्रबार, वैशाख १४, २०८१

खुल्ला त घटस्थापनादेखि चलचित्र हल ?

नेपालखोज २०७८ असोज ७ गते १२:११

काठमाडाैं । २०७७ चैत ११ देखी नेपालमा लकडाउन सुरु भयो । लकडाउन सुरु भए देखि अहिलेसम्म नै फिल्म हलहरु सञ्चालनमा आएका छैनन् । कोरोना महामारीले ग्रस्त नेपाली फिल्म उद्योग उठाउन सम्बन्धित निकायहरू महिनौंदेखि सक्रिय छन् । तर पनि हलहरु सञ्चालन भएका छैनन् ।

सुरक्षा मापदण्ड पूरा गर्नेगरी सरकारले फिल्म हल खुला गर्न निर्देशन दिएको छ । तर, चलचित्र क्षेत्रलाई पुनर्कर्जा, विद्युत् डिमान्ड शुल्क मिनाहा, कर छुट, कोरोना कहरमा प्रभावित हल र फिल्मलाई आर्थिक अनुदानलगायतका मागहरू राखेर फिल्मकर्मीले फिल्म चलाएका छैनन् ।

उनीहरूले देशैभरका हल एकसाथ खोल्नुपर्ने माग पनि राखेका छन्। तर नेपाल चलचित्र संघले माग सम्बोधन गर्न आश्वासन मात्र दिइरहेको छ ।
फिल्म नबनेकै कारण निर्माता, निर्देशक, कलाकार, टेक्निसियन सबै पलायन हुन थालिसकेका छन् ।

कोरोना संक्रमणका कारण करिब देशभरका करिब २०-२५ वटा सिनेमा हल बन्द भएको हल सञ्चालकहरुले जनाएका छन् । मल्टिप्लेक्स र सिंगल थिएटर गरेर देशभर करिब १९३ सिनेमा घर रहेकामा करिब २०-२५ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेका छन् । कोरोना कहरले चलचित्र उद्योग डामाडोल भएको छ।

नेपालबाट सबैभन्दा धेरै नाफा कमाउने चलचित्रमा हलिउड र बलिउड नै छन् । अहिलेको यो संकटमा पनि हलिउड र बलिउड कै फिल्म पहिला चलाउने कि भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

तर अहिले हलमा बलिउड र हलिउड चलचित्र पनि उपलब्ध नभएको बताइएको छ। विदेशी फिल्मले चलचित्र उद्योग चलायमान गराएको खण्डमा मात्र नेपाली चलचित्र उद्योग पनि चलायमान हुने आशा गरिएको छ । तर हलिउड र बलिउड उपलव्ध नभएको अवस्थामा कसरी फिल्म सञ्चालन हुन्छन् त्यो त हेर्न बाँकी छ ।

त्यसो त चलचित्र संघले घटस्थापनाको दिनदेखि हल सञ्चालनमा ल्याउन पहल गरिरहेको छ। तर, अहिलेसम्म कुनै पनि निर्माताले दसैँमा फिल्म रिलिजको घोषणा गरेका छैनन् । यस्तोमा नयाँभन्दा पनि पुराना फिल्म दशैंमा लगाउने कि भन्ने पनि कुरा उठ्न थालेको छ ।

विदेशी चलचित्रको प्रदर्शन पश्चात नेपाली निर्माताले नयाँ कदम चाल्न सक्ने अनुमान गरिएको छ। करोडौं ऋणमा डुबेका चलचित्र उद्योगीले सुरक्षा मापदण्ड अपनाई पूर्ण क्षमतामा हल सञ्चालन गर्न खोजिरहेका छन् ।

छायांकनपछि बीचमै रोकिएका ७० भन्दा धेरै चलचित्र निर्माणका क्रममा छन् । तर दसैँमा फिल्म लगाउने एउटै निर्माता छैनन् । यस्ताेमा घटस्थापनादेखि सञ्चालन हुन्छन् कि हुनैनन् शंका पैदा हुन थालेको छ ।

प्रतिक्रिया