नेता थापा भन्छन्- घृणा जागेका कारण ओलीले संसदमा अवरोध सिर्जना गरे
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औं महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४औं महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताएका हुन् ।
बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए । मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताए ।
पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरुलाई दिएको जिम्मेवारी नेताहरुले पुरा नगरी जवाफदेहिता बिनाको राजनीति गरिएको उनले टिप्पणी गरे ।
नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताए । संसदप्रति ओलीको घृणा सिंगो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए ।
उनले भने, ‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न । उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो । संसदलाई वेवास्ता गर्नुभो । पटक–पटक भंग गर्नुभयो । अहिले संसद पुर्नस्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ । अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा(एमाले) लाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’
नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरुले बजेटको बिषयमा बोल्न नपाएको उल्लेख गरे । एमालेको अवरोधले सांसदहरुले संसदमा आफ्नो भूमिकासमेत निर्वाह गर्न नपाएको बताए । एमालेको प्रस्तुतीले संसदीय पद्धतीको गरिमा राख्न नसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया