शुक्रबार, वैशाख १४, २०८१

सङ्गीत क्षेत्रको स्रोतकेन्द्र ‘नेपाल सङ्गीत विद्यालय’

नेपालखोज २०७९ माघ २१ गते १९:४५

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सङ्गीत विभाग प्रमुख डा ध्रुर्वेशचन्द्र रेग्मीले नेपाली सङ्गीत विद्यालय सङ्गीत क्षेत्रको स्रोत केन्द्र बनेको बताए । नेपालकै पहिलो विद्यालयबाट धेरै सङ्गीत क्षेत्रमा आबद्ध रहेकाहरूको मार्गदर्शनसमेत भएको उनले उल्लेख गरे ।

विश्व सङ्गीतका आधुनिक विधालाई समेट्नुपर्ने भन्दै उनले नेपाली सङ्गीतको दायरा अत्यन्तै ठूलो बन्दै जानु सकारात्मक पक्ष भएको बताए । पूर्वीय र पश्चिमी सङ्गीत यस विद्यालयमा अध्यापन गराउनुपर्ने धारणा राखे । जातीय र लोक-सङ्गीतजस्ता महत्वपूर्ण पक्षलाई समेटेर विद्यार्थीलाई सिकाउनुपर्ने उनको भनाइ छ ।

विभाग प्रमुख रेग्मीले नेपाल सङ्गीत विद्यालयले औपचारिक सङ्गीत शिक्षाको प्रारम्भ गरेकामा खुसी व्यक्त गरे । सङ्गीत विषयको पाठ्यक्रम बनाउन सरकारलाई सङ्गीत विद्यालय परिवारले महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताए । यस विद्यालयमा हाल फिल्म स्टडी सुरु हुनुले थप सहजता भएको उनको भनाइ छ ।

नेपाल सङ्गीत शैक्षिक गुठीका संस्थापक तथा सदस्यसचिव सन्तोष शर्माले सन् २००६ बाट सुरु गरिएको नेपाल सङ्गीत विद्यालयले राष्ट्रलाई महत्वपूर्ण योगदान गरेको बताए । सरकारी र गैरसरकारी विद्यालयबीच राज्यले विभेद गरेको भन्दै सरकारले योगदानको आधारमा मूल्याङ्कन गरी सहयोग गर्नुपर्ने धारणा राखे ।

सदस्यसचिव शर्माले नेपाल सङ्गीत विद्यालयमा युगपुरुष सत्यमोहन जोशीको सहयोग र उत्प्रेरणाका कारण पनि विद्यालय यहाँसम्म आउन सफल भएको बताए । नेपालको सङ्गीत विश्वमा चिनाउन नेपाल सङ्गीत विद्यालयले अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । अन्तर्राष्ट्रियस्तरका एक दर्जन बढी विश्वविद्यालयसँग सङ्गीत विद्यालयले सहकार्य गर्दै आएको उनले बताए ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष तथा नेपाल सङ्गीत शैक्षिक गुठीका अध्यक्ष तीर्थमान शाक्यले विद्यालयलाई महाविद्यालय छिट्टै बनाउने तयारी गरिएको बताए । उनले गैरसरकारी विद्यालय भए पनि सरकारले गर्न नसकेका काम यस विद्यालयमार्फत भएको उल्लेख गरे । देशका विभिन्न स्थानमा भएका जातीय लोक-सङ्गीतलाई युवा पिँढीमार्फत जीवन्त राख्न विद्यालयले महत्वपूर्ण भूमिका खेलेकोसमेत अध्यक्ष शाक्यको दाबी थियो ।

विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीले सङ्गीत विषय अध्ययन मानव समाजको एक अभिन्न अङ्गका रूपमा रहेको बताए । सङ्गीत क्षेत्र अन्यभन्दा एक फरक विधा भएका कारण देशको गौरवका निम्ति पनि यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया