बिहीबार, वैशाख १३, २०८१

टी-ट्‌वान्टी वर्ल्ड कप क्रिकेटको ‘एन्थम’ सार्वजनिक

नेपालखोज २०७८ असोज ८ गते ८:०४

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी टी-ट्‌वान्टी वर्ल्ड कपको आधिकारिक एन्थम र प्रचार अभियानसँग सम्बद्ध भिडियो सार्वजनिक गरेको छ ।

यस-पटकको ट्‌वान्टी-ट्‌वान्टी विश्व कप क्रिकेट प्रतियोगिता यही असोज ३१ गते आइतबार (१७ अक्टुबर) देखि ओमान र यूएईमा संयुक्त रूपमा सञ्चालन हुँदै छ । यो प्रतियोगिताको फाइनल कात्तिक २८ गते आइतबार (१४ नोभेम्बर) दुबईमा हुनेछ ।

कोभिड-१९ को महामारीबीच सञ्चालन हुन लागेको क्रिकेटको सबैभन्दा ठूलो यो प्रतियोगितामा १६ देश सहभागी हुनेछन् । यो प्रतियोगिताको उद्घघाटन खेल ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा खेलिने छ । जहाँ घरेलु टिम ओमानले टी-ट्‌वान्टी विश्व कपमा पहिलोपटक सहभागिता जनाइरहेको पपुआ न्युगिनीको सामना गर्नेछ । १७ अक्टुबरको उक्त खेलपछि यो प्रतियोगिताका अन्य खेल ओमान र यूएईका विभिन्न सहरमा एक महिनासम्म खेलिनेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको टी-ट्‌वान्टी वर्ल्ड कपको आधिकारिक एन्थम बलिउडका संगीत निर्देशक अमित त्रिवेदीको संगीत निर्देशनमा तयार भएको हो । उक्त एन्थमको एनिमिनेटेड भिडियोमा टी-ट्‌वान्टीका प्रशंसक तथा केही दिग्गज खेलाडीहरु देखिन्छन् ।

नेपालमा क्रिकेटको बढ्दो लोकप्रियतासँगै यो प्रतियोगिताको क्रेज पनि निकै छ । नेपाल आफैं पनि यो प्रतियोगितामा सहभागिता जनाउने सपना साँचेर त्यसका लागि प्रयासरत मुलुक हो । नेपाल त्यसको नजिकसम्म पनि पुगिसकेको छ । यसपटक ओमान र यूएईमा नेपाल नदेखिए पनि चाँडै नेपाली खेलाडीहरु टी-ट्‌वान्टी वर्ल्ड कपको मैदानमा हुने आशा र विश्वास दिन-प्रतिदिन बलियो हुँदै गएको छ । टी-ट्‌वान्टी क्रिकेटको सबैभन्दा कान्छो र सर्वाधिक लोकप्रिय ‘फर्म्याट’ हो ।

प्रतिक्रिया