बुधबार, वैशाख १२, २०८१

‘मुम्बई-अहमदाबाद हाई स्पीड रेल परियोजनाको सुरुवात समयमै गराैं’

नेपालखोज २०७८ असोज ८ गते १३:३७

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गरेका छन् ।

वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द(प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो।

सो अवसरमा दुवै प्रधानमन्त्रीले मुम्बई-अहमदाबाद हाई स्पीड रेल (MAHSR) परियोजनाको सुरुवात र समयमै यसको कार्यान्वयनका लागि आ-आफ्नो तर्फबाट प्रतिबद्धता जनाएका छन् ।

दुई नेताबीचको बैठक क्वाडको पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ। विदेश मन्त्रालयका अनुसार उहाँहरू बीच रक्षा उपकरण र प्रविधिको क्षेत्र सहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउने बारे सहमति जुटेको छ।

दुई प्रधानमन्त्रीबीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो । सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उनीहरू बीच तीनपटक टेलिफोन वार्ता भएको छ।

प्रधानमन्त्री मोदीले भारत(जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरशिपमा पछिल्ला केही बर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिएका छन्

प्रधानमन्त्री मोदीले कोभिड-१९ महामारीका बीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाइसमेत व्यक्त गरे । सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देशबीचको बढ्दो आर्थिक सम्लग्नताको स्वागत गरेका छन् ।

उनीहरु बीच यस वर्षको सुरुमा भारत, जापान र अष्ट्रेलियाबीच आपूर्ति शृङ्खला र लचकता पहल (एससीआरआई)को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको स्वागत गरेका छन्।

उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि दुई पक्षीय साझेदारीको संरचना निर्माणको लागि जोड दिएका छन् ।

जापनी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिएका जानकारी अनुसार यस वर्षको सुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक (एसएसडब्ल्यू) सम्झौतालाई सञ्चालन लागि जापानी पक्षले २०२२ को शुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्ने छ।

दुई प्रधानमन्त्रीबीच कोभिड-१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल केन्द्रित भएको छ । उनीहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्त्वलाई जोड दिदै यस विषयमा भारत-जापान डिजिटल पार्टनरशिप मा विशेष गरी स्टार्ट-अपमा भएको प्रगतिको सकारात्मक मूल्यांकन पनि गरेका छन् ।

त्यसै गरी दुई नेताबीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउने बारे विचार आदान-प्रदान भएको छ। जलवायु परिवर्तनका मुद्दाहरू, हरित ऊर्जा संक्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिशनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ।

दुई नेताले भारत-जापान एक्ट इस्ट फोरम अन्तर्गत भारतको उत्तर पूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनाहरूमा भएको प्रगतिलाई स्वागत गर्दै, यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाहरूको समेत उल्लेख गरेका छन् । रासस-एएनआई

प्रतिक्रिया