शुक्रबार, चैत १६, २०८०

बागलुङमा सापुको जोखिम बढ्दै

नेपालखोज २०७८ असोज ८ गते १४:४२

बागलुङ । बागलुङमा सेतो पुतलीको झुस ‘सापु’बाट आँखामा संक्रमण हुने र ज्योतिसमेत गुम्ने अवस्थाकोे जोखिम बढ्दै गएको छ ।

जिल्लामा सापु संक्रमण गराउने सेतो पुतली देखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए । उनका अनुसार बजारदेखि गाउँसम्म यस्तो पुतली देखिएका छन् ।

कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार आँखामा संक्रमण भइ पोखरास्थित हिमालय आँखा अस्पतालमा ६ र बुटवलस्थित लुम्बिनी अस्पतालमा दुई बिरामी उपचारत छन् ।

उनीहरु सबै बागलुङमै संक्रमण भएर गएका हुन् वा उतै संक्रमित भए भन्ने यकिन नभए पनि जोखिम भने बढिरहेको जनाइएको छ ।

सेतो पुतलीको अण्डाबाट संक्रमण हुने ‘सापु’बाट उनीहरु पीडित भएको पुष्टि भएको हो । ‘हामीले सबै पालिकाको स्वास्थ्य शाखाबाट बुझ्दैछौँ,’ कार्यालय प्रमुख गुरौले भने, ‘बागलुङ बजारमा पनि सङ्क्रामक पुतली भने देखिएका छन् ।’ बालबालिका र वयस्कले पनि ती पुतलीबाट बच्नुपर्ने उनले सुझाव दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका प्रमुख डा. मिलन मल्लले एकदुईजनामा संक्रमणको समस्या देखेर रिफर गरेको बताए ।

फोकल पर्सन घिमिरेका अनुसार अङ्ग्रेजी बिजोर वर्षमा यो संक्रमण देखिइरहेको छ । दुई वर्षअघि सन् २०१९ मा पनि यो संक्रमणबाट बागलुङका दुईजना पीडित भएको तथ्याङ्क भेटिएको घिमिरेले जानकारी दिए ।

‘यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउनेबाहेक अन्य विकल्प छैन,’ उनले भने, ‘चर्को बत्ती नबाल्ने, बालेको स्थानमा नजिक नजाने, झ्यालमा जाली लगाउने काम गर्नुपर्छ ।’ पोखरामा भर्ना भएका बिरामीमध्ये नौ महिनाका बालबालिकादेखि ३४ वर्ष उमेरका भएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया