शनिबार, जेठ ५, २०८१

एउटा तस्बिरको कथा

सुनील उलक २०८० भदौ ६ गते ७:५८

काठमाडाैं । ५७ वर्ष अगाडि आजकै दिन एउटा ऐतिहासिक तस्बिर खिचिएको थियो । जुन तस्विरले विश्वभर तहलका मच्चाएको थियो । यो तस्विर पृथ्वीको कुनै धरातलबाट खिचिएको थिएन । यो तस्बिर चन्द्रमाको धरातलबाट खिचिएको थियो । र त्यो तस्बिर पृथ्वीको थियो । पृथ्वी गोलो होइन चेप्टो छ भन्ने केही प्रतिशत जनतालाई यसले प्रमाणित गराएको थियो कि पृथ्वी वास्तवमा गोलो नै छ भनेर । यसरी विश्वमा पहिलो पटक पृथ्वीको तस्विर खिच्न सफलता मिलेको थियो ।

इष्टमेन कोडाक कम्पनीबाट बिशेष रुपले बनाइएको क्यामेरालाई लूनार अर्बिटरमा जडान गरेर चन्द्र धरातलका तस्बिर खिच्न पठाइएको थियो । वास्तवमा चन्द्र धरातलका तस्विरहरु खिच्नुको कारण अन्तरिक्षयात्री सहित पठाउन लागिएको एपोलो ११ लाई चन्द्रमाको कुन धरातलमा उतार्दा कुनै पनि किसिमको समस्या झेल्न पर्दैन भनेर थियो । तर यसरी चन्द्र धरातलका तस्विरहरु लिने क्रममा क्यामेराले पृथ्वीको पनि तस्विर खिच्न पुगेको थियो । त्यतिबेला अन्तरिक्षमा पठाइएको क्यामेराको तौल ६८ केजी थियो ।

चन्द्रमाको धरातलबाट खिचिएको यो फोटो तत्कालै पृथ्वीमा पठाइदा स्पेनमा रहेको नासाको स्टेशनमा प्राप्त भएको थियो । तर क्यामेरामा नै भएको वास्तविक फोटो भने लामो अवधिसम्म निकाल्न नै खोजिएन । लुनार अर्विटर सहित क्यामेरा नासामा रहे पनि क्यामेराले वास्तविक रुपमा खिचिएको फोटो कस्तो थियो भनेर सोधखोज नै गरिएन । चन्द्र धरातलबाट फोटो खिचिएको ४२ वर्ष पछि सन २००८ मा नासाले लुनार अर्विटर इमेज रिकभरी प्रोजेक्ट सुरु गरेपछि क्यामेरामा राखिएको वास्तविक डाटा टेप एफ(आर९०० टेप ड्राइवबाट १.२ गीगाबाइटको फोटो निकालिएको थियो ।

यसको २८ महिनापछि एपोलो ८ ले अर्को पृथ्वीको दुर्लभ फोटो खिचेको थियो । यस तस्बिरको नाम EarthRise राखिएको थियो । हामी पृथ्वीमा बसेर सूर्य उदाएको र चन्द्रमा उदाएको दृश्यमा अभ्यस्त रहेकोमा पहिलो पटक चन्द्रमाबाट पृथ्वी उदाएको तस्विर खिचिएको थियो ।

प्रतिक्रिया