ईपीएलमा काठमाडौंको विजयी सुरुवात

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स-११ ले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले हराएको छ ।
ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले । रायनले अविजित रहदै ७३ रन जोडे । उनले ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।
गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । यस्तै राजु रिजाल १९ रनमा अविजित रहे । ललितपुरका पवन सर्राफले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए । ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी सुन्य रनमा अविजित रहे । यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आजदेखि भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा ६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया