बिहीबार, वैशाख १३, २०८१

विद्यार्थी बिरामी पर्न थालेपछि पर्वतका २ विद्यालय बन्द

नेपालखोज २०७८ असोज १० गते १४:३५


पर्वत । पर्वतमा विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ ।

स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मा.विं. र रानीस्वाँरा प्रा.वि बन्द गरिएको हो । विगत एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक मा.वि का प्रमुख अधिकारी गणेश तिमिल्सिनाले जानकारी दिए ।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेका थिए । त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको प्रअ तिमिल्सिनाले बताए ।

पकुवाको साविक वडा नम्बर ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन् । बालबालिका तथा विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रा.वि पनि बन्द गरिएको छ ।

सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो ।

थप विद्यार्थीमा सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको तिमल्सिनाको भनाइ छ ।

अहिले झण्डै ५० विद्यार्थी बिरामी परेका छन् । उनीहरु सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको छ ।

वडाध्यक्ष शिवप्रसाद पौडेलले बिरामी परेका विद्यार्थीको पिसिआर वा एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीलाई बोलाइएको बताए।

भाइरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीलाई भनिएको छ । उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गरेर औषधि सेवन गरिरहेको प्रमुख अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

जिल्लामा यसै सातादेखि विद्यालयको भौतिक उपस्थितिमा पढाइ गरिएको छ । यही असोज १ गतेदेखि विद्यालय खुलेका हुन् । विद्यालय खुलेको केही दिनमै बिरामी परेपछि पढाइ प्रभावित बनेको प्रद्यानाध्यापक तिमिल्सिनाले बताए।

जिल्लामा कोरोना सङ्क्रमण दर भने न्यून छ । अहिले जिल्लाभरमा सक्रिय संक्रमितको संख्या सात छ ।

प्रतिक्रिया