शुक्रबार, जेठ ३, २०८२

यो वर्ष धान उत्पादन बढ्ने

नेपालखोज २०७९ पुष ६ गते १०:०१

काठमाडाैं । अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ । यो वर्षअनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायानिक मलको आपूर्ति पनि सहज भएका कारण उत्पादन वृद्धि हुने देखिएको दाबी मन्त्रालयले गरेको हो ।

मन्त्रालयले अहिले सातै प्रदेशको धान उत्पादनको तथ्याङ्क अद्यावधिक गरिरहेको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको तथ्याङ्क भने आउन बाँकी छ । यो वर्ष मुलुकभर १५ लाख चार हजार ४८६ हेक्टर क्षेत्रफलमा ९४ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष खेतीयोग्य जमिनको क्षेत्रफल र उत्पादन दुवै बढ्ने देखिएको मन्त्रालयले जनाएको छ ।

आव २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टरमा धान रोपाइँ भएको थियो तर धान भित्र्याउने समयमा भएको प्रतिकूल वर्षाका कारण धान उत्पादन ८ दशमलव ७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार टन भएको थियो। आव २०७७/७८ मा ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत छ। कृषि क्षेत्रको वृद्धिदर २ दशमलव २४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ जीडीपीमा मुख्य बालीका रूपमा धानको योगदान ११ दशमलव ३० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया