एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेद्वारी घोषणा
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
आईतबार (आज) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका सल्लाहकार समेत रहनु भएका आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ । एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताए ।
आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गर्न अनलाईन कक्षाहरु संचालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिवद्धता समेत जनाए ।
उनले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौंता गर्ने आश्वासन समेत दिए ।
आचार्यको उम्मेद्वारीलाई संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले समर्थन जनाएका छन् । एनसीसी युकेबाट संघको यात्रा थालेका आचार्यले एनआरएनए यूकेको अध्यक्ष, आइसीसी सदस्य, यूरोप क्षेत्रको संयोजक, आइसीसी उपाध्यक्ष र सल्लाहकारका रुपमा काम गरेका छन्।
आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेद्वारी घोषणा भएको छ । संघको महासचिव पदमा अमेरिका निवासी एनसीसी अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका चिकित्सक डा. केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
अमेरिकास्थित एक अस्पतालका मेडिकल डाइरेक्टर पौडेल एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता हुन् । आचार्यको नेतृत्वमा संघलाई पारदर्शी र परियोजनामुखी बनाउने अभियान अन्तर्गत आफूले महासचिव पदमा उम्मेदवारी दिएको पौडेलले बताए ।
प्रतिक्रिया