‘जनताको बहुदलीय जनवाद’ माथि भुसालको फरक मत

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’’माथि प्रश्न उठाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बूँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरेर अघि बढनै नसकिने तर्कसमेत गरे ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आईतबार सम्पन्न पार्टी केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेको छैनौ– अहिलेसम्म । त्यसलाई सिद्धान्तको रुपमा परिभाषित गरेका छैनौं, अफिसियल्ली आधिकारिक रुपले । त्यसलाई ब्याख्या गरेका छैनौ । यस विषयमा पनि हामी यसरी लामो समयसम्म जान सक्दैनौं । जनताको बहुदलीय जनवादको यत्रो कुरा गरेका छौं । तर त्यो के होे ? भन्ने कुरा नै नभनेर पनि जान सकिन्छ ? तसर्थ यो पनि हामीले परिपूर्ण गराऔं भन्ने मेरो कुरा हो ।’
उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ति छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गरे । उनले थपे, ‘हामीले जनताको बहुदलीय जनवादको कुरा गरेका छौं । त्यो चाँही हामी जस्ले जे भन्छ, त्यो आँखा नदेख्नेले हात्ति छामेजस्तो जसले जे बुझ्यो, त्यही भयो । त्यसलाई परिभाषित गरेका छैनौं । जनताको बहुदलीय जनवादले के गर्छ ? साम्राज्यवादको विरोध गर्छ । जनताको समर्थन गर्छ, जनताको पक्ष लिन्छ । महिलाको पक्ष लिन्छ । युवाको पक्ष लिन्छ, यस्ता अनेकन कुरा भन्न सकिन्छ । तर स्वयम् जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा हामीले परिभाषित गरेका छैनौं ।’
उपमहासचिव भुसालले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खानु परेको उल्लेख गर्दै त्यसमा हामीभित्रै रहेको कमजोरीको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताए । त्यसैगरी उनले समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको स्पष्ट पारे ।

प्रतिक्रिया