बिहीबार, चैत १५, २०८०

भदौ महिनामा मात्र ३ हजार ६ सय ८३ जना पक्राउ

नेपालखोज २०७८ असोज १० गते १९:३३


काठमाडौं । गत भदौ महिनामा भएका विभिन्न अपराधमा संलग्नमध्ये ३ हजार ६ सय ८३ जना पक्राउ परेका छन् भने १ हजार १ सय ४३ जना फरार रहेका छन् ।

पक्राउ परेका अभियुक्तहरू ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी भइरहेको छ । उक्त महिनामा दर्ता भएका कूल ३ हजार ९ सय ८ वटा अपराधमा ४ हजार ८ सय २६ अभियुक्तहरू संलग्न रहेका थिए ।

उनीहरूमध्ये ४ हजार ४ सय ९१ पुरुष र ३ सय ३५ महिला रहेका छन् । अदालतबाट सजाय तोकिएका मध्ये १ हजार ४ सय ४४ जना फरार प्रतिवादीहरू भदौ महिनामा पक्राउ परेका छन् । उनीहरूलाई ६ सय ६४ वर्ष १० महिना ११ दिन कैद सजाय तोकिएको छ ।

साथै जरिवानाबापत विगो रकम ६ करोड ७१ लाख ३५ हजार ६ सय ९७ रुपैयाँ असुल भएको छ । सो अवधिमा विभिन्न शीर्षक मार्फत ३४ करोड २८ लाख ६० हजार ९७ रुपैयाँ राजश्व संकलन भएको छ ।
भदौ महिनामा भएका १ हजार ७ सय ९८ वटा सवारी दुर्घटनामा परी १ सय ७० जनाको मृत्यु भएको छ भने ५ सय १५ जना गम्भीर घाइते भएका छन् । औसतमा देशभरि प्रति दिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्याङ्कले देखाएको छ ।
उक्त महिनामा कूल ३ सय ४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ४ सय ७५ जना मानिसहरू पक्राउ परेका छन् । साथै ७९० किलो गाँजा, ३६.२ किलो चरेश, ७५४ ग्राम हेरोईन र २ किलो अफिम र २.९६ किलो कोकिन बरामद भएको छ ।

भदौ महिनामा ४८ नाल हातहतियार, विभिन्न हतियारहरूमा लाग्ने २० राउण्ड गोली र ३ थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियार सहित २६ जना पक्राउ परेका छन् ।
भदौ महिनामा दर्ता भएका घटनामध्ये ज्यान सम्बन्धी ६ सय ६३ वटा, आत्महत्याको ४ सय ८१ वटा, चोरीको २ सय ७९, संगठित – आर्थिक अपराध ४ सय ६३, सामाजिक अपराध ९ सय ५३, महिला बालबालिका विरुद्ध ४ सय ४४, सवारी सम्बन्धी १ सय ५७ र विविधतर्फ ४ सय ६८ वटा मुद्दा दर्ता भएका छन् । दैनिक औषत १ सय २६ वटा मुद्धा दर्ता हुने गरेको तथ्यांकले देखाएको छ ।

यसैगरी हातहतियार तथा खरखजाना सम्बन्धी २४ वटा, बाल यौन दुराचार २४ वटा, अपहरण वा शरीर बन्धक सम्बन्धी ११ वटा र मानव बेचबिखन तथा ओसारपसारका १७ वटा मुद्दा दर्ता भएका छन् ।

आत्महत्याका ४ सय ८१ वटा घटनामध्ये झुन्डिएर ३ सय ७८, विष खाएर ९४, पानीमा डुबेर ६, हाम फालेर १, हातहतियार औजारबाट १ र आगो लगाएर १ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया