शुक्रबार, वैशाख ७, २०८१

ठगी कार्यमा सिटी एक्सप्रेसको साथ !

नेपालखोज २०७८ असोज १० गते २०:३७


काठमाडौं । क्यानडामा फुड प्याकेजिङमा काम लगाइदिने भनि ठगी गर्ने दुईजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले मोरङको शनिश्चरे बस्ने ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका वडा नम्बर ८ बस्ने ३७ वर्षीय प्रबेज आलमलाई पक्राउ गरेको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ठगी कार्यमा साथ दिएको देखिएको छ । महानगरीय अपराध महाशाखा मीनभवनले ठगी कार्यमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेपछि ठगी कार्यमा सिटी एक्सप्रेसको साथ रहेको देखिएको हो ।

महाशाखाका अनुसार झापाको कमल गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने आशिष काफ्लेले ९८५१०२२६३५ नम्बरबाट ह्वाटस एप र फेसबुक चलाउँदै आएकामा फेसबुक पेजमा क्यारिर अपरचुनिटी अर्जेन्ट निड इन इडेन सोलुसन क्यानडामा विज्ञापन रहेको देखेर सो पेजमा रहेको ह्वाट्स एप नम्बर १३०७४८१६३१४ मा सम्पर्क गर्दा क्यानडमा फुड प्याकिङका लागि मासिक तलब दुई लाख २५ हजार रुपैयाँमा जागिर लगाइदिने, सोका लागि चार लाख रुपैयाँ खर्च लाग्छ भनि पासपोर्टसमेतको कागजातहरु पठाउन लगाई प्रोसेसिङको लागि सिटी एक्सप्रेसबाट विभिन्न व्यक्तिहरुको नाउँमा आईएमई तथा सिटी एक्सप्रेसमार्फत तीन लाख रुपैयाँ पठाउन लगाई ठगी गरेको हुँदा अनुुसन्धान गरी कारबाही गरी पाउँ भनि पीडितहरुले महाशाखामा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा ती व्यक्तिहरु पक्राउ परेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आशिष काफ्लेलाई ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुको बारेमा अनुसन्धान गर्दै जाँदा आईएमई तथा सिटी एक्सप्रेसमार्फत पठाएको रकम लिने कार्यमा नगेन्द्र विश्वकर्मा र प्रबेज आलमसमेतको संलग्न रहेका आधारमा ती दुवै व्यक्तिहरुलाई मोरङको उर्लाबारीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै व्यक्तिहरुलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया