कालोधनलाई सेतो बनाउने प्रावधान खारेज गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार (आज) राष्ट्रियसभाको बैठक अवरोध गर्नु अघि आफ्नो दलको तर्फबाट धारणा राख्नेक्रममा एमाले सांसद गुरुङले सो प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्तकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्त भित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए ।
उनले प्रतिस्थापन विधेयकमा उल्लेखित सो प्रावधान संविधानको मर्म र भावना विपरित रहेको, संविधानले भूत प्रभावी कानुन बनाउन नपाउने व्यवस्था पनि गरेकाले मान्य नहुने चेतावनी दिए ।
सांसद गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई क्रान्तिकारी नेताको संज्ञा दिँदै त्यो कालो धनलाई सेतो धन पार्ने कुरा दनदहाडै किन सो प्रतिस्थापन विधेयकमा राख्ने प्रयास गरेको भन्दै प्रश्न गरे ।
उनले सो प्रावधान संविधान र प्रचलित कानुन अनुसार पनि बदरभागी हुने भएकाले तत्काल खारेज गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
सांसद गुरुङले सत्ता पक्षले संसदलाई सहज ढंगले अघि बढाउन पहल नगरेकाले आफूहरुले अवरोध गरिरहनु परेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया