‘केही दिनभित्रै सरकारले पूर्णता पाउँछ, सय दिन नपुग्दै टिप्पणी गर्नुहुँदैन्’

नेपालखोज २०७८ असोज ११ गते २०:५१

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि अझैसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वभाविक भएको भन्दै अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे ।

तर, अब एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाईसक्ने उनको दाबी छ । उनले गत निर्वाचनमा जनताले नेकपालाई दुई तिहाई बहुमत दिएर सरकारमा पठाएको र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको स्मरण गराए ।

तर, पछिल्लो तीन वर्षमा नेकपाले ठीक ढंगले सरकार नचलाएको उनको भनाइ छ । नेता लेखकले वर्तमान सरकारले सबैभन्दा प्राथमिकता दिएर कोभिड-१९ बाट नेपाली जनतालाई खासगरी कोभिडको जोखिमबाट बचाउने प्रण लिएको र सोहीअनुसार काम गरिरहेको सुनाए ।

त्यस्तै, उनले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशनपनि सम्पन्न हुने विश्वास दिलाए । दसैंअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने उनको भनाइ छ ।

प्रतिक्रिया