बिहीबार, वैशाख १३, २०८१

भक्तपुरका विद्यालय खुले

नेपालखोज २०७८ असोज १२ गते १०:०३


काठमाडौं । भक्तपुरमा कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् ।

भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन् ।

कोभिड–१९ संक्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुन थालेका छन् ।

भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खुल्न अनुमति दिएपछि विद्यालय असोज १ गतेदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका हुन् ।

सूर्यविनायक नगरपालिकाले भने दशैँअगाडि भौतिकरूपमा परीक्षा सञ्चालनको अनुमित दिए पनि दशैँपछि कक्षा ८ देखि १० सम्म र तिहारपछि सबै कक्षालाई भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाले भने उपत्यकामा १८ वटा नगरपालिकामध्ये अन्तिममा मात्रै विद्यालय खोल्न अनुमति दिने बताउँदै आएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले अनुमति नदिए पनि लुकीलुकी भौतिकरूपमा विद्यालय सञ्चालन गर्न थालेपछि नगरपालिकाले विद्यालय सञ्चालन निर्देशिका जारी गरी स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याउँदै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न अनुमति दिएको बताए ।

सूर्यविनायक नगरपालिकाले तत्कालका लागि भौतिकरूपमा परीक्षा सञ्चालन गर्न अनुमति दिए पनि कक्षा सञ्चालन भने दशैँपछि मात्रै अनुमति दिने भएको छ ।

मध्यपुरथिमि नगरपालिकाले भने तिहार अगाडि विद्यालय सञ्चालनको अनुमति नदिने भएको छ । खोप लगाउन बाँकी १८ वर्षमुनिका बालबालिका कोरोनाको उच्च जोखिममा रहेको भन्दै उनले बालबालिकामा कोरोना सङ्क्रमण देखिन थालेकाले हतारिएर विद्यालय खोल्न अनुमति नदिने बताए।

उनले अनुमति नदिई विद्यालय सञ्चालन गरेको पाइए नगरपालिकाले कारबाही गर्छ भन्दै उपत्यकाका १८ पालिकामध्ये १७ वटाले सञ्चालनको अनुमति दिएपछि मात्रै मध्यपुरथिमिले अनुमति दिने जानकारी दिए।

मध्यपुरथिमि नगर कसैको दबाब र प्रभावमा नचल्ने भन्दै उनले विद्यार्थी र विद्यालयले कक्षामा भौतिक दूरी कायम गर्छौँ भने पनि त्यसले काम नगर्ने र स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गराउन नसक्ने बताए ।

दशैँ र तिहारपछि अवस्था हेरेर मात्रै विद्यालय सञ्चालनको अनुमति दिने बताउँदै उनले मध्यपुरथिमि नपाद्वारा सञ्चालित नेपाल कोरिया–मैत्री नगरपालिका अस्पतालमा बच्चाका लागिसमेत भेन्टिलेटरसहितको आइसीयू सञ्चालनमा ल्याएको बताए ।

भक्तपुर नपा उपप्रमुख एवं शिक्षा समिति संयोजक रजनी जोशीले नगरपालिकाले विद्यालयका प्रिन्सिपल, अभिभावक, शिक्षक, विद्यार्थीलगायत सरोकारवाला निकायसँग छलफल गरेर विद्यालय सञ्चालनको अनुमति दिएको बताए ।

प्रतिक्रिया