‘आ-आफ्नो स्थानबाट यथोचित योगदान गरे मात्र विज्ञान प्रविधिको क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न सकिन्छ’

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरुले सबै मन्त्रालय र मातहतका निकायले आ-आफ्नो स्थानबाट यथोचित योगदान गरेमा मात्र विज्ञान प्रविधिको क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न सकिने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज प्रस्तुत विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति २०६७ लाई कार्यान्वयन गर्न तयार गरिएको रणनीतिक कार्ययोजना २०७७ मा यस्तो आवश्यकता औंल्याइएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा मन्त्रालयका तर्फबाट प्रस्तुत उक्त कार्ययोजनामा समृद्धि प्राप्तिका लागि अब देश चौतर्फी रुपमै विज्ञान र प्रविधिको प्रयोग र विकासमा लाग्नु पर्ने बताइएको छ ।
मुलुकको समृद्धिका लागि महत्वपूर्ण क्षेत्रहरुमध्ये एक मानिएको विज्ञान प्रविधिमा उल्लेख्य प्रगति हासिल गर्न विज्ञान प्रविधिमा अध्ययन, अनुसन्धान, प्रयोग र व्यावसायिक उपयोगलाई सबै तह र क्षेत्रबाट प्रवद्र्धन गर्नुपर्ने पनि मन्त्रालयका पदाधिकारीहरुले जोड दिए ।
विज्ञानका प्रयोग र प्रविधि विकासका लागि विदेशबाट आवश्यक उपकरण ल्याउनु अनिवार्य रहेको बताउँदै मन्त्रालयका पदाधिकारीहरुले यसका लागि भन्सार प्रक्रियामा सहजीकरण र स्रोत् साधनको व्यवस्थाका लागि सहुलियत दरमा ऋणसमेतको व्यवस्था गरिनुपर्ने उनिहरुको भनाई छ । कार्ययोजनामा अनुसन्धान तथा विकासलाई परिणाममुखी बनाई उद्यमशीलतासँग आवद्ध गराउने, वैज्ञानिक चेतना वृद्धि गर्ने, विद्यालयस्तरमा वैज्ञानिक सिकाई प्रवर्द्धन र विज्ञान शिक्षालाई प्रभावकारी बनाउने उल्लेख छ ।
त्यसैगरी उच्च शिक्षामा विज्ञान प्रविधिसम्बन्धी अध्ययन तथा अनुसन्धानलाई गुणस्तरीय बनाउने र त्यसको पहुँच बढाउने प्राविधिक तथा व्यावसायिक शिक्षाको आकर्षण तथा प्रभावकारिता वृद्धि गर्ने, मौलिक ज्ञान तथा परम्परागत प्रविधिको संरक्षण, सम्वर्द्धन तथा व्यवसायीकरणमार्फत विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रको व्यापकरुपले रुपान्तरण गर्ने उद्देश्य पनि कार्य योजनाको छ ।
प्रतिक्रिया