पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्छ : अर्थमन्त्री शर्मा

नेपालखोज २०७८ असोज १२ गते ११:३५


काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख एवं अर्थमन्त्री समेत जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मंगलवार (आज) पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्दे उनले अबको सन्दर्भमा संगठनको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउदै अर्थमन्त्री समेत रहेका नेता शर्माले पार्टी र जनवर्गिय संगठनहरुका हरेक इकाईलाई उत्पादन इकाईको रुपमा बदल्नुपर्ने बताए ।

पार्टीको नीति निर्माण तहमा दलित समुदायको उचित प्रतिनिधित्वको लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको भएपनि त्यसलाई कार्यान्वयन गर्न सेल कमिटी र टोल कमिटीहरुबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजान आग्रह गरे ।

राजनैतिक सत्ता परिवर्तन भएपनि पूरानो सामाजिक सांस्कृति सत्ता यथावतै रहेको चर्चा गर्दै उनले दलित समुदायमाथि भइरहेको सांस्कृतिक उत्पीडन र विभेद त्यसकै परिणाम भएको बताए ।

उनले दलित मोर्चाको नेतृत्वमा सामाजिक सांस्कृतिक आन्दोलन सशक्त बनाउदै त्यसलाई संघर्षको एजेण्डाको रुपमा अघि बढाउन आग्रह गरे ।

सरकारले पहिलो पटक गरिब र विपन्नहरुलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्दे अर्थमन्त्री शर्माले दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको बताए ।

यस्तै उनले दलितहरुको लागि पनि आवास योजना अघि सारिएको जानकारी दिए । यसअघि संचालित जनता आवास कार्यक्रमले समेत दलित समुदायलाई राम्रोसँग सम्बोधन गर्न नसकेकोले दलित आवास कार्यक्रम ल्याइएको उनले स्पष्ट पारे ।

वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरण लगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरु गरिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया