शुक्रबार, वैशाख ७, २०८१

भक्तराजलाई पद्मश्री साधना सम्मान-२०७७

नेपालखोज २०७८ असोज १२ गते १२:११

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साधना सम्मान भक्तराज आचार्य र पद्मश्री साहित्य पुरस्कार केशव दाहालको ‘मोक्षभूमि’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

काठमाडौं । पद्मश्री साधना सम्मान-२०७७ बाट गायक तथा संगीतकार भक्तराज आचार्यलाई सम्मान गरिने भएको छ । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने यो सम्मानबाट यसपालि संगीतकार आचार्यलाई प्रदान गर्न लागिएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।

यसै गरी प्रतिष्ठानले साहित्यतर्फ २०७७ सालको पद्मश्री साहित्य पुरस्कार भने केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई प्रदान गर्ने निर्णय गरेको छ । तीन-तीन लाख रुपैयाँ राशि रहेको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिँदै आएकामा यस वर्ष कोरोना संक्रमणका कारण अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार २०६३ सालदेखि प्रदान गरिँदै आएको जनाएको छ । यस्तै प्रतिष्ठानले २०६७ देखि साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

प्रतिक्रिया