बिहीबार, वैशाख ६, २०८१

बैंकिङ क्षेत्रको कुल निक्षेप ४७ खर्ब २७ अर्ब, कर्जा निक्षेप ८८ दशमलव २५ प्रतिशतमा सीमित

नेपालखोज २०७८ असोज १२ गते १३:१९



काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ४७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यही असोज १० गते आइतबारसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्सको कुल निक्षेप उक्त परिमाणमा पुगेको हो ।

सोमध्ये वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप यस अवधिमा ४१ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप पाँच खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४३ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ ।

उक्त कर्जा मध्ये वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम ३९ खर्ब नौ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम ४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।

सोही आधारमा अहिले बैंक तथा फाईनान्स कम्पनीहरुको कर्जा निक्षेप अनुपात अर्थात सिसिडी रेसियो ८८ दशमलव २५ प्रतिशत रहेको छ ।

असोज आठ गते अर्थात शुक्रबार यस्तो अनुपात ८७ दशमलव १६ प्रतिशत रहेको थियो । विगतको कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि जारी गरेको निषेधाज्ञा कै कारण वित्तीय प्रणलीमा कर्जाको माग घटेकाे थियो भने निक्षेप बढेको थियो । तर समय निषेधाज्ञा हटेसंगै वित्तीय प्रणालीमा निक्षेपको तुलनामा कर्जा बढेको छ ।

कर्जाको माग बढे कै कारण अहिले बैंकहरुलाई अनिवार्य नगद मौज्जाद (सिआरआर) रकम कायम गर्न केही समस्या देखिएको छ । सोही कारण बैंकहरुले माग अनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् ।

बैंकिङ प्रणालीमा केहीहदसम्म तरलता अभावको समस्या देखिएको छ । तर यो दिर्घकालीन समस्या होईन, केही दिन बजेट होलिडे हुँदा सरकारी रकम बजारमा नआएकाले पनि बजारमा तरलता अभाव देखिएको हो ।

अहिले बजेट कार्यान्वयनमा गएसंगै सरकारी रकम बजारमा आउँछ, यसले बित्तीय प्रणालीमा रहेको तरलता अभावको समस्या हटाउँछ, नाम उल्लेख नगर्ने सर्तमा एक बैंकरले भने, ‘अहिले पनि बैंकिङ प्रणालीमा बाहिर हल्ला भएजस्तो तरलता अभाव छैन, केही बैंकहरुमा देखिएको हुुन सक्छ तर त्यो भन्दै सबै बैंकहरुमा तरलता अभाव भयो, सिआरआर कायम गर्न सकेनन् भन्नु गलत हो’, ति बैंकर भन्छन् । अहिले कर्जा जुनरुपमा बढेको छ, त्यो रुपमा बैंकिङ प्रणालीमा निक्षेप नआएकाले केही समस्या देखिएको हुन सक्छ, तर क्षणिक हो, ति बैंकरले भने ।

बैंकर एसोसिएसनको तथ्यांक अनुसार भने असोज ८ गतेसम्म अर्थात एक सातामा नै बैंकहरुले ३१ अर्ब रुपैयाँ कर्जा बढाएका छन् । तर उक्त साता बैंकहरुमा थपिएको निक्षेप भने आठ अर्ब रुपैयाँ मात्र रह्यो ।

यसको अर्थ बैंकिङ क्षेत्रमा कर्जा बढेको र निक्षेप घटेकै कारण सिसिडी रेसियो ८८ दशमलव २५ प्रतिशतमा कायम हुन पुगेको छ ।

प्रतिक्रिया