बुधबार, वैशाख १२, २०८१

ए डिभिजन लिग : पूर्व कप्तान विराजले च्यासलको कप्तानी गर्ने

नेपालखोज २०७८ असोज १२ गते १७:१३

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।

च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो । अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदैछ । अनुभवी डिफेन्डर विराजले यस अघि न्युरोड टिम (एनआरटी), थ्री स्टार, संकटा र मनाङ मस्र्याङ्दीबाट खेलिसकेका छन् ।

त्यस्तै, च्यासलले स्कटल्याण्डका ली मान्सनलाई आजैको पत्रकार सम्मेलनबाट प्राविधिक निर्देशक नियुक्त गरेको छ । पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकको रुपमा काम लीलाई क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि नियुक्त गरेको हो ।

मंगलबारै च्यासल युथ क्लबलाई खेलकुद सामाग्री उत्पादक कम्पनी युक्यानले प्रायोजन गर्न क्लबसँग सम्झौता गरेको छ । चिनियाँ ब्राण्ड युक्यानले मंगलबार च्यासललाई एक वर्षको लागि प्रायोजन गर्ने सम्झोता गरेको हो । च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै युक्यानले च्यासललाई सहिद स्मारक ए डिभिजन लिगमा किट्स उपलब्ध गराउनु पर्ने छ ।

प्रतिक्रिया