समयानुकूल पर्वहरूको सुधार हुनुपर्छ : राष्ट्रपति

नेपालखोज २०७८ असोज १३ गते ६:५१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चाड पर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार गर्नुपर्ने बताएकी छन् । आज जितीया पर्वको शुभकामना सन्देश दिदै उनले यस्तो बताएकी हुन् ।

सन्देशमा भनिएको छ, ‘हाम्रो मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता चाड पर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानु पर्दछ भन्ने मलाई लागेको छ ।’

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितियालाई आफ्नो सन्तानको सुख र समृद्धिका लागि यो चाडलाई मनाउने गरेका छन् ।

प्रत्येक वर्ष असोज कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

भौगोलिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

प्रतिक्रिया