कोरोनाविरुद्धको पूर्ण मात्रा खोप ५० प्रतिशतले लगाए

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसंख्यासम्म पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसंख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौं उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ । काठमाडौं उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसंख्या मध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसंख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
मन्त्रालयको खोप शाखाका अधिकृत भरत भण्डारीले काठमाडौं जिल्लामा पहिलो मात्रा ५१.५ प्रतिशतले र ४८.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका बताए । काठमाडौं जिल्लामा खोप लगाउने लक्षित जनसंख्या १५ लाख ६२ जना हो ।
त्यस्तै ललितपुरमा ४९.७ प्रतिशत पहिलो मात्रा र ४५.४ प्रतिशत पूर्ण मात्रा तथा भक्तपुरमा ४१ प्रतिशत पहिलो मात्रा र ४९ प्रतिशत पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
ललितपुरमा तीन लाख ८२ हजार ८६० जना र भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना खोप लगाउने लक्षित जनसङ्ख्या हो । यसरी हेर्दा ढिलोमा दसैँसम्ममा उपत्यकाको सबै लक्षित वर्गको कम्तीमा ५० प्रतिशतले खोप लगाइसक्ने देखिएको छ ।
राजधानी उपत्यका धेरै जनसंख्या भएको, प्रायः देशभरका मानिसहरुको मिश्रित बस्ती रहेको स्थान हो । बढी जनसंख्या रहेको यो उपत्यकामा ५० प्रतिशत नागरिकलाई खोप लगाउनुलाई उपलब्धिका रुपमा लिनुपर्ने हुन्छ ।
त्यसपछि सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा लगाइएको छ । यस प्रदेशमा पहिलो मात्रा ३८।२ प्रतिशत र पूर्ण मात्रा ३५।३ प्रतिशतले खोप लगाइसकेका छन् ।
भण्डारीले काठमाडौं जिल्लामा ३५ वर्षमाथिका लागि पनि खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।
सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसंख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई खोप लगाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै आउनुभएको छ ।
खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप प्रदान गर्दै आइरहेको छ ।
अहिले काठमाडौं उपत्यकामा ४० वर्षमाथिका सबै र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीले ती खोप केन्द्रबाट खोप लगाइरहेका छन् ।
कोरोना भाइरसका सक्रिय संक्रमितमा ५० प्रतिशतभन्दा बढी कमी आएको देखिएको छ । यसअघि सबैभन्दा बढी गत भदौ ३ गते ४० हजार ५०० जना सक्रिय संक्रमित रहेकामा हिजो मङ्गलबारको तथ्याङ्कमा जम्मा १८ हजार ४२२ जना मात्र सक्रिय संक्रमित देखिएका छन् । सक्रिय संक्रमितको यो गिरावट ५० प्रतिशतभन्दा बढी हो ।

प्रतिक्रिया