सोमबार, वैशाख १५, २०८२

महिला सशक्तीकरणमा साउदी अरब, मस्जिदमा ६ सयलाई राेजगारी

नेपालखोज २०७८ असोज १३ गते १६:४२

काठमाडाैं । महिला सशक्तीकरणको दिशामा रहेकाे साउदी अरबले अर्को महत्वपूर्ण कदम उठाएको छ । साउदी अरबले महिलाहरुलाई गाडी चलाउने अनुमति दिएपछि अहिले ६ सय जना साउदी महिलालाई विशेष प्रशिक्षण दिएको छ जसलाई त्यहाँका दुईवटा मस्जिदमा विभिन्न काममा लगाइने जनाइएकाे छ ।

स्थानीय मिडियाका अनुसार दुईवटा पवित्र मस्जिदका लागि एजेन्सी तथा सहायक एजेन्सीहरुको सहयोगमा ती महिलाहरुलाई प्रशिक्षण दिइएकाे छ ।

महिला विकास मामिलाका उपाध्यक्ष अल-अनौद अल-अबौदको नेतृत्वमा ती प्रशिक्षित महिलामध्ये ३१० जना महिलालाई रोजगारीसमेत दिइसकिएको जनाइएकाे छ ।

ती महिलाहरुमध्ये २ सय जना कमेलिया अल-दादीको नेतृत्वमा बौद्धिक र मार्गदर्शक काममा खटाइएका छन्, भने बाँकी महिलालाई प्रशासनिक र सेवाको काममा लगाइएको छ ।

मक्का स्थित ग्रान्ड मस्जिद-खाना-ए-काबामा अहिले ती प्रशिक्षित महिलाहरु महिला तीर्थयात्री तथा आगन्तुकहरुको सेवामा खटिएका खबरमा जनाइएकाे छ ।

यस अघि यहि अंग्रेजी वर्षको सुरुवातमा साउदी महिलालाई इस्लामको सबैभन्दा पवित्रस्थल मक्का र मदिनाको सुरक्षामा खटाइएको थियो । सुरक्षा ड्युटीका क्रममा साउदी महिलाहरु पहिलोपटक सैन्य खाकी बर्दीमा मक्काको मस्जिदमा देखिएका थिए ।

अहिले साउदी अरबको यो कदमको प्रशंसा संसारभर भइरहेको छ । साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा त्यहाँ महिलाहरुलाई बढी स्वतन्त्रता दिने क्रम जारी छ र यो त्यही दिशामा एउटा ठूलो कदम हो ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया