नेपालमा एकै महिनामा संक्रमणको दर ५२.३ प्रतिशतले घट्यो

काठमाडौं । नेपालमा एकै महिनामा कोरोना संक्रमणको दर ५२.३ प्रतिशतले घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या घटेर करिब २ दशमलव ३२ प्रतिशत अर्थात् १८ हजार ४२२ मा झरेको छ ।
नेपालमा गत महिना ४ दशमलव ८६ प्रतिशत् अर्थात ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेकोमा एक महिनाको अवधिमा संक्रमणको दर ५२ दशमलव ३ प्रतिशतले घटेको हो । संक्रमण दर घटेपनि संक्रमणको जोखिम भने नघटेको प्रवक्ता पौडेलले बताएका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १ हजार १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट १० हजार ६५२ जनाको पीसीआर परीक्षण गर्दा ८९२ जना र ३ हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जना गरि कुल १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९४ हजार १६३ र एन्टीजेन विधिबाट ९१ हजार ३७३ गरि ८ लाख ८५ हजार ५३६ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप १ हजार ११३ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार १२३ पुगेको छ ।

प्रतिक्रिया