पार्टीको संगठनलाई व्यवस्थित बनाउने माओवादीकाे निर्णय

काठमाडाैं । नेकपा (माओवादी) केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको संगठनलाई व्यवस्थित बनाउने सन्दर्भमा संगठन विभागले सुझाव र योजनाहरु पेस गरेको र ती योजनाहरुलाई स्थायी कमिटी बैठकले स्वीकार गरेको स्थायी कमिटी सदस्य देव गुरुङले बताए ।
त्यस्तै बैठकमा विगत्मा विभिन्न समयमा भएको पार्टी एकीकरणमा आएका नेता, कार्यकर्ताहरु संगठित हुन छुटेको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न बनाएको कार्यदलले प्रतिवेदन पेस गरेको पनि उनले जानकारी दिए । कार्यदलले बुझाएको सुझावलाई ध्यान दिएर त्यही अनुसार सांगठनिक प्रक्रियामा लैजानका लागि अगाडि बढ्ने उनले बताए।
त्यस्तै बैठकमा पार्टी स्कूल विभागले पनि विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रुपमा टुंगो लगाउने कुरा भएको पनि उनको भनाइ छ ।
स्थायी कमिटी सदस्य गुरुङले सरकार गठनका लागि भएको कानूनी जटिलता अन्त्य हुने प्रक्रियामा रहेको उल्लेख गर्दै कानुनी जटिलता अन्त्य भइसकेपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्बारे नीतिगत निर्णय गर्ने र मन्त्रीहरुको टुंगो लगाइने बताए । बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय एजेण्डाको रुपमा नरहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया