‘श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताएका छन् ।बुधवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले लाखौं युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए ।

श्रम शक्तिलाई तालिम दिएर दक्ष बनाउने र रोजगारीमा लगाउने गरी प्रतिस्थापन बजेटमार्फत कार्यक्रम ल्याएको जानकारी दिंदै मन्त्री शर्माले यस्ता कार्यक्रमबाट अर्थतन्त्रलाई समाजवादको दिशातिर सोझ्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सरकारले पहिलो पटक पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले राहत दिने, दीर्घरोगीहरुलाई मासिक उपचार खर्च, शहीद परिवारलाई मासिक भत्ता दिने जस्ता दीर्घकालीन महत्वका कार्यक्रमहरु ल्याएको उनले जानकारी दिए ।

आफूले कुनै पनि हालतमा व्यक्तिगत स्वार्थमा केन्द्रीत भएर काम नगर्ने प्रतिवद्धता बोकेर जिम्मेवारी सम्हालेको उल्लेख गर्दै मन्त्री शर्माले कहीँकतै त्यस्तो पाइएमा निर्धक्क आलोचना र भण्डाफोर गर्न सबैलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया