भन्सार सहजिकरण गर्न नाडाको अनुरोध
काठमाडौं । भन्सार सहजिकरण गर्न नाडाले अनुरोध गरेको छ । बुुधबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्य प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दै भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिकालगायतका विभिन्न विषयमा छलफल गरेको नाडाले जनाएको छ ।
उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोवाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए । छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागबिच सूचना आदानप्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारीसमेत भईसकेको जानकारी दिए ।
उक्त छलफलमा महासचिव सुनिल रिजालले यच.यस कोड परिवर्तन र साफटा सुविधा अन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको वर्गिकरणमा स्पष्टता हुनु पर्ने बताए । त्यसैगरी सो छलफलमा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एल.सि खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराए ।
उक्त छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजिकरण गरिने बताउँदै व्यवसायीहरुका लागि अनलाईन पेमेन्ट र भेहिकल स्क्यानरको व्यवस्थासमेत गरिने बताए । सो छलफलमा महानिर्देशक सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइलसमेत तयार गर्न लागेको बताउँदै यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको बताए ।
प्रतिक्रिया