प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

नेपालखोज २०७८ असोज १३ गते २१:५४

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएको प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने निजी सचिव जोशीले बताए । संघीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया