ईपीएलमा चितवन टाइगर्सको दोस्रो जित
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवनले काठमाडौंलाईं तीन विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किंङ्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै चितवन टाइगर्सलाई १ सय ४२ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङ गरेको चितवनले ८ बल बाँकी छँदै १८ दशमलव ४ ओभरमा लक्ष्य भेटाएको हो । चितवनका लागि कमल ऐरीले २३ रन, राजेश पुलामीले २६ रनको योगदान दिए ।
यस्तै पहिले ब्याटिङ गर्ने क्रममा काठमाडौंका सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै राजु रिजालले २० बलमा २८ रन र जनक प्रकाशले २६ रनको योगदान दिए ।
एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो जितसँगै चितवन ४ अंक जोड्दै साथ शीर्षस्थानमा उक्लिएको छ। चितवनले शुक्रबार पोखरा राइनोजसँग खेल्ने छ भने काठमाडौंले शनिबार भैरहवासँग खेल्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया