योजनासहित आउनेलाई नेतृत्व छोड्न तयार छु, तर उत्तराधिकारी अहिले नै घोषणा गर्दिन’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीवार अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको बताएका हुन् ।
विगतमा सामाजिक रुपान्तरण, क्रान्ति र परिवर्तनको निम्ति काम गर्ने पार्टी नेता कार्यकर्ताहरुको कार्यशैलीमा स्खलन भएको उनले बताए । पार्टीका नेताहरु पद, प्रतिष्ठा, पैसा र कमिशनको निम्ति मरिहत्ते गर्ने भन्दै उनले पार्टीभित्र अवसरवादी चरित्र मौलाएको बताए । जो नेता जति धेरै माथि भयो उति धेरै स्खलित भएको उनको भनाई छ । पार्टीबाट जति धेरै मन्त्री बने उनीहरु नै पतन भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा रुपान्तरणको खाँचो रहेको औँल्याए ।
अध्यक्ष प्रचण्डले विगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रहँदा तत्कालीन पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली सँगको लडाइँ जिवन मरणको लडाइँ भएको स्मरण गरे । त्यतिखेर आफु आत्महत्या गर्ने कि लडाइँ लड्ने भन्ने अवस्थामा रहेको भन्दै उनले जोखिम उठाएर क्रान्तिकारी ढंगले लड्ने संकल्पसाथ लडेको उल्लेख गरे । उनले केपी ओलीमाथि विजय प्राप्त गरेको पनि बताए ।
अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएका कारण चुनाव लड्न नसक्ने स्थिति आएको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने बताए । यसका निम्ति सडकबाटै जनताले दबाब दिनुपर्ने पनि उनले बताए । उनले गाउँघरमा केपी ओली र कमल थापाहरुको आतंक भएको भन्दै ति आतंकलाई परास्त गर्न नेता, कार्यकर्तालाई आग्रह गरे ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र आफुविरुद्धमा गुटबन्दी बनाउने कोसिस भइरहेको भन्दै आफु नेतृत्व छाड्न तयार नभएको स्पष्ट पारेका छन् । उनले अहिलेको अवस्थामा पार्टी थेग्न सक्ने कोही नदेखेको भन्दै विचार, योजना र कार्यक्रमसहित आउनेलाई नेतृत्व छोड्न तयार रहेको उल्लेख गरे । तर उत्तराधिकारी अहिले नै घोषणा नगर्ने उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले विगतमा एमालेको माधव नेपाल पक्षधर रहेका र नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका १० जना नेताहरुले आफुलाई केपी ओलीविरुद्ध लड्न आग्रह गरेको भएपनि उनीहरुले नै ओलीसँग आत्मसर्मपण गरेको बताए । आफुलाई एमाले फुटाएको आरोप लगाएको भन्दै उनले विगतमा तिनै दश नेताहरुसहिको बैठकले केपी ओलीलाई कारबाही गरेको तर्फ ति नेताहरुलाई स्मरण गराए । अध्यक्ष प्रचण्डले युवा तथा विद्यार्थीहरुलाई विकृति र विसंगतिका विरुद्ध तथा प्रतिगमन र प्रतिक्रान्तिको विरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन निर्देशन समेत दिए ।

प्रतिक्रिया