एमालेको विधान महाधिवेशन आजबाट, ६ हजार बढी प्रतिनिधि सहभागी हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुने सम्मेलनको उद्घाटनबाट नै छ हजार बढी प्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।
उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव पेश गर्ने कार्यतालिका छ । सम्मेलन आइतबारसम्म चल्ने छ ।
शनिबार समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने र आइतबार दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सूझाव एवं उठेका विषय स्पष्ट पार्दै निष्कर्ष निकालिने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।
महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीबाट चुनिएका प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेश सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहभागी हुनेछन् ।
यस्तै, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उप–प्रमुख, जनसंगठन र पेशागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ संगठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्यहरूले प्रतिनिधित्व गर्ने नेता भट्टराईले बताए ।
एमालेले प्रतिनिधि चयनमा महिला, जनजाती, दलित र अन्य समूदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइने बताएको छ ।
मूल सभाहलमा ३ हजार प्रतिनिधि, दायाँ–बायाँको खाली हलहरूमा एक÷एक हजार प्रतिनिधिहरूको लागि बस्ने व्यवस्था गरिएको छ । यस्तै, हलको दायाँ–बायाँ, प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर आवश्यक पर्न सक्ने एक÷एक हजार क्षमताको संरचना निर्माण गरिएको छ ।
प्रतिक्रिया