२ सय देशका कलाकारको जमघट, यसरी झुम्यो दुबई !
मेलामा दुई सय देशका कलाकारको प्रस्तुति रहनुका साथै विभिन्न मुलुकका प्रविधिहरूको व्यापार तथा प्रदर्शनी गरिँदै छ ।

काठमाडौं । दुबईमा आयोजित अन्तर्राष्ट्रिय व्यापारिक मेलामा आज (शुक्रबार) देखि करिब दुई सय देशका कलाकारले प्रस्तुति दिँदै छन् । ‘एक्सपो–२०२० दुबई’ नाम दिइएको अन्तर्राष्ट्रिय मेला स्थायी भविष्यका लागि अन्तर्राष्ट्रिय सहयोगको सन्देश प्रवाह गर्ने उद्देश्यले हिजो (बिहीबार) रातिदेखि सुरु भएको हो ।
मेला उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायक–गायिकाको विशेष आकर्षण रह्यो । इटलीका गायक एन्ड्री बोसेली, ब्रिटेनकी गायिका एल्ली गोल्डिङ, चीनका लाङलाङ र साउदीका अहम्मद आब्दुको उद्घाटन समारोहमा विशेष गायन प्रस्तुति थियो ।
दुबई सहर खाडी क्षेत्रको पर्यटन र व्यापारको केन्द्र हो । तर पछिल्लो समय कोरोना संक्रमणका कारण प्रभावित भएको छ । अन्तर्राष्ट्रिय व्यापार मेलाको माध्यमबाट दुबईमा २.५ करोड पर्यटक तथा व्यवसायी भित्र्याएर कोरोनाबाट प्रभावित अर्थ व्यवस्थामा सुधार ल्याउने लक्ष्य राखिएको छ । व्यापार र लगानी बढाउन चाहने देश तथा बहुराष्ट्रिय कम्पनीहरूको ध्यान यस मेलामा केन्द्रित भएको छ । कोरोना संक्रमणपछिको यो पहिलो र ठूलो अन्तर्राष्ट्रिय मेला भएको दाबी गरिएको छ । मेला आयोजनाले संसारको व्यापारको ढोका खोलिएको आयोजकको भनाइ छ ।

एक अनुमानअनुसार यो मेलामा कलाकारहरूको प्रस्तुतिमै करिब ६.८ बिलियन डलर खर्च हुनेछ । एक्स्पो संस्कृति, प्रविधि र वास्तुकलाको अन्तर्राष्ट्रिय प्रदर्शनी हो । मेलाको उद्देश्य ‘विचारहरूलाई जोड्दै सुन्दर भविष्य निर्माण’ भन्ने राखिएको छ । दुबईलाई ‘प्रतिभा प्रदर्शनी’ का लागि विश्वमा चिनाउन र विश्वका कलाकारको साझा मञ्चका रूपमा परिचित गराउन पनि मेलाको आयोजना गरिएको आयोजकको दाबी छ । अर्थ–व्यवस्था र जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय चुनौतीलाई सामूहिक रूपमा सम्बोधन गर्न सकियोस् भन्ने पनि मेलाको उद्देश्य छ ।
एक्सपो २०२० दुबईका महानिर्देशक रिम अल हासिमीले भने, ‘हामी धेरै विश्वस्त छौं । कोभिडको स्थितिसँग जुझ्नका साथै आगन्तुकहरूका लागि एक महान् कार्यक्रमको आयोजना गर्ने जिम्मेवारी छ । हामीले सार्वजनिक सुरक्षालाई उच्च प्राथमिकता दिनेछौं ।’ दुबई एक्सपोमा विभिन्न कम्पनीहरूको उपस्थिति हुनाले अझ नयाँ प्रविधिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय एक्स्पोको सुरुवात सन् १७९१ मा चेक गणराज्यको बोहेमियाबाट भएको थियो । तर पहिलो विश्व एक्सपो आधिकारिक रूपमा सन् १८५१ मा लन्डनको किस्टल दरबारमा आयोजना गरिएको थियो ।
एक्सपो सञ्चालनसँगै केही विशेष नियमहरू पनि बनाइएका छन् । सबै आगन्तुकका लागि मास्क अनिवार्य गरिएको छ । मेलामा सहभागी १८ वर्षभन्दा माथिकाले कोभिड परीक्षण गरेर अनिवार्य खोप लगाउनुपर्ने उल्लेख छ । यस्तै कोभिड नेगेटिभ देखिएको प्रमाणपत्र अनिवार्य देखाउन पनि भनिएको छ । एक्स्पो ओलम्पिकपछि विश्वमा यो सबैभन्दा ठूलो कार्यक्रम भएको आयोजकको दाबी छ ।
१८२ दिनसम्म चल्ने मेलामा ५० करोड मानिसले भ्रमण गर्ने अपेक्षा गरिएको छ । मेलालाई व्यवस्थित गर्न ५० लाख स्वयंसेवक खटाइने भएको छ । प्रदर्शनीस्थल ११ सय हेक्टरमा फैलिएको छ । विभिन्न ४६ हजार संघ–संस्थाहरूको सहभागिता रहने दुबई एक्स्पो अक्टुबर १ तारिखदेखि ३१ मार्चसम्म सञ्चालन हुनेछ ।

अन्तर्राष्ट्रिय एक्स्पोको सुरुवात सन् १७९१ मा चेक गणराज्यको बोहेमियाबाट भएको थियो । तर पहिलो विश्व एक्सपो आधिकारिक रूपमा सन् १८५१ मा लन्डनको किस्टल दरबारमा आयोजना गरिएको थियो । यसपछि भने विश्वमा विभिन्न सहरमा एक्स्पोको आयोजना भइरहेको छ । यस वर्ष भने दुबईले अन्तर्राष्ट्रिय मेला आयोजना गर्ने अवसर पाएको हो ।
मेलाका लागि यूएईमा सञ्चालित विश्वको सबैभन्दा सफल भ्याक्सिनेसन कार्यक्रमको महत्त्वपूर्ण योगदान छ । युएईमा ७० प्रतिशतभन्दा बढी जनताले कोरोनाविरुद्धको खोपको दुवै डोज लगाइसकेका छन् । गत वर्ष दुबईमा आयोजना हुनुपर्ने एक्सपो कोरोना महामारीका कारण सम्भव भएको थिएन । २०२१ मा आयोजना गरिए पनि मेलाको यो संस्करण २०२० लाई भनिएको छ ।
प्रतिक्रिया