बिहीबार, मंसिर २७, २०८१

आरम्भ चौतारीको सीईओमा शर्मा नियुक्त

नेपालखोज २०७८ असोज १५ गते १६:३४


काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।

संस्थाको संचालक समितिको यही असोज १४ गते शुक्रबार बसेको बैठकले सोही मितिदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा शर्मालाई नियुक्ति गरेको हो ।

संस्थाको केन्द्रिय कार्यालय बनेपामा भएको कार्यक्रममा संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण विकासमा स्नातकोत्तर हासिल गरेका छन् भने बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यअनुभव रहेको छ ।

निर्धन उत्थान बैंकबाट शाखा प्रमुखको रुपमा कार्य सुरु गरेका शर्माले मिर्मिरे लघुवित्त, सनराईज बैंक, एन आई सि एसिया बैंक लिमिटेडमा विभिन्न विभागका साथै एन.आई.सि एसिया बैंकको सहायक कम्पनी एन आई एशिया लघुवित्तमा स्थापनाकाल देखी प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रही कार्य गरि छोटो समयमा संस्थालाई उचाईमा पुर्‍याएकोअनुभव छ ।

शर्माले आक्रामक व्यवसाय विस्तार र गुणस्तर व्यवस्थापनमा बिशेष दख्खल रहेको छ । पदभार ग्रहण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे तथा निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको वृद्धि विकासमा सदैव आफुले सहयोग गर्न तयार रहने कुरा व्यक्त गरे ।

हाल संस्थाले ७ प्रदेश ५२ जिल्ला एक सय ३७ वटा शाखा कार्यालय मार्फत ८७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । संस्थाले ४८ हजार ॠणी मार्फत ४ अर्व ७८ करोड कर्जा लगानी र १ अर्व ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया