शनिबार, जेठ ४, २०८२

शिक्षाको नाममा भइरहेको लुट नियन्त्रण गर्न माग

नेपालखोज २०७८ असोज १५ गते १७:१४

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले २२ औं राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन असोज ६ गतेदेखि ९ गतेसम्म पोखरामा सम्पन्न भएको आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

सम्मेलनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१ आाैं राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तुत गरेको जानकारी दिए ।

उनले शिक्षालाई पछिल्लो समयमा व्यापारको हिसाबले हेरिएको र सो विषयको सम्मेलनमा उठान गरेको जानकारी दिए । अनलाइन शिक्षाको नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरि तत्काल भौतिक कक्षा सञ्चालन गर्नसमेत उनले जोडदार माग गरे ।

सरकारले जनताको कुनै पनि समस्याको समाधान गर्न नसकेको आरोप लगाउँदै उनले सरकारबाट मुठ्ठीभरका मानिसहरुले मात्र लिइरहेको पनि आरोप लगाए । देशको विद्यमान शिक्षा क्षेत्रले सम्पुर्ण विद्यार्थीको भविष्य सुनिश्चित गर्न नसक्ने उनको ठहर छ ।

उनले दुर्गम क्षेत्रका विद्याथीहरुको पढाईको स्तर खस्किनुमा पढ्नलाई भौतिक सुविधा नभएको उल्लेख गरे । उनले देश कोरोना संकटबाट आक्रान्त बनेको बेला संक्रमित सबै नागरिकहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नुको साथै सम्पुर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गर्न माग गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित सचिव विरेन्द्र शाहले सभ्य र भव्यताको साथ २२ औं सम्मेलन पोखरामा सम्पन्न भएको बताए । उनले सम्मलेनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिए ।

शाहले मेडिकल शिक्षामा भएको बेतिथिको अन्त्य गरि सरकारको लगानीमा मेडिकल कलेजहरुको विस्तार गरी नेपाली प्रतिभा र पुँजी पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिए । उनले पोखराको मणिपाल अस्पताललाई तत्काल राष्ट्रियकरण गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

उनले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले गरेको ३ बुँदे सहमति तत्काल अक्षरश कार्यान्वयन गर्नपर्ने पनि माग गरे । लिपुलेक लिम्पियाधुरा लगायतका देशैभरका अतिक्रमित भूमि फिर्ता गरि सिमानामा काँडेतार लगाउन जोडदार माग गरे ।

कार्यक्रममा बोल्दै उपाध्याक्ष नरेन्द्र विश्वकर्माले जनमतसंग्रह पार्टीको मुख्य एजेन्डा बनाउने बताए । वैज्ञानिक समाजवादी व्यवस्था र दलाल पुँजीवादी संसदीय व्यवस्थाका विषयमा तत्काल जनमतसंग्रहको घोषणा गर्न पनि सरकारसमक्ष माग गरे । उनले राष्ट्रघाती एमसीसीको विरुद्ध संघर्ष गर्न सम्पुर्ण विद्यार्थीहरुलाई आग्रह गरे ।

त्यस्तै, महासचिव मिलन राईले जनताको जनजिविकाको अवस्था अत्यन्तै कमजोर भएको भन्दै अझैपनि नेपालमा राजनीतिक आन्दोलन नभई सकेको बताए । उनले विद्यार्थी आन्दोलन अहिलेको आवश्यकत्ता भएको जिकिर गरे । आफ्नो संगठन विद्यार्थीहरुको निम्ति बलिदान गर्न र जेल बस्न पनि तयार रहेको उनको उद्घोष छ ।

अहिलेको व्यवस्थाले जनताको समस्या समाधान नहुने उनको भनाई थियो । उनले सरकारले गर्ने नराम्रो कामको विरुद्ध आफ्नो संगठन झम्टिन र जनताको सारथीको भूमिका निभाउन तयार रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष रुपा बुढाले गरेकी थिइन् ।

प्रतिक्रिया