भारतमा कोरोना संक्रमित फेरि बढे

नेपालखोज २०७८ असोज १५ गते १७:४९

काठमाडाैं । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले शुक्रबार (आज) बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ संक्रमित थपिएका हुन ।

यसअघि दैनिक संक्रमितहरुको संख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेर २६ हजारभन्दा बढी भएको हो । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण २७७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ संक्रमितमध्ये १५ हजार ९१४ जना केरलाका मात्रै रहेको जानकारी दिएको छ । त्यसैगरी केरलामा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या १२२ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या २ लाख ७५ हजार २२४ रहेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या १९६ दिनपछिकै सबैभन्दा कम हो ।

पछिल्लो एक दिनमा २८ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा संक्रमणमुक्त भएकाहरुको संख्या भन्दा संक्रमित भएकाको संख्या थोरै भएकाले सक्रीय संक्रमितको सङ्ख्या कम हुँदै आएको हो ।

भारतमा अहिलेसम्म कुल तीन करोड ३० लाख ४३ हजार १४४ जना कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २० हजार ८९९ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५७ करोड चार लाख ७७ हजार ३३८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया