मंगलबार, मंसिर २५, २०८१

शनिदेवकाे व्रत किन बस्ने ?

नेपालखोज २०७८ असोज १६ गते ५:००

शनिबार भगवान् शनिदेवको पूजा गर्नु राम्रो मानिन्छ । शनिदेवको दृष्टिबाट बच्न शनिबार शनिदेवको विशेष पूजा आराधना गर्ने गरिन्छ । धर्म तथा न्यायका प्रतीक शनिदेव सुख-सम्पत्ति, वैभव र मोक्ष दिने भगवान् हुन् भन्ने शास्त्रमा वर्णन गरिएको छ । सूर्यपुत्र शनिले संसारमा रहेका हरेक जीवजन्तु तथा मानिसमा सन्तुलन कायम गर्ने काम गर्छन् ।

शनिदेव पापीहरुका लागि निकै कष्टकारक हुन्छ । तर, इमानदारहरुलाई यो ग्रहले हरेक सफलता दिने गर्दछ । शनि ग्रह नीलो रङको हुन्छ जुन रङले निरन्तर पृथ्वीलाई नियालिरहेको हुन्छ ।

शनिबार किन बस्ने व्रत ?

शनिबारको व्रत धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले शनिदेवको पूजा गरिन्छ । शनि ग्रहको अनिष्ट फलबाट मुक्त हुन, मनलाई शान्त बनाउन तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि पनि यसो गर्नुपर्दछ ।

व्रत लिने तरिका

यो व्रत शुक्लपक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ । अझ साउन महिनाको शुक्लपक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वास गरिन्छ ।

शनिबार बिहान नुहाईधुवाई गरेर कालो या नीलो वस्त्र लगाएर फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गराई घाम, अक्षता, फलफूल आदिले पूजा गरी ‘ॐ शं शनैश्चराय नमः’ यो मन्त्र ३ माला जप्ने गर्नुपर्छ । व्रतको दिन नीलो या कालो वस्त्र धारण गर्नुपर्छ ।

आफूले भने रात्रिभोजनमा नुन नहालेको खानेकुरा खानुपर्छ । यसो गर्दा ग्रहमा भएको शनिदोष हटेर जान्छ । एउटा भाँडामा शुद्ध पानीमा कालो तिल, ल्वाङ र दूध मिसाई पीपलको बोटमा पूर्वफर्केर उक्त मिश्रित जल चढाउनुपर्छ । त्यसपछि भगवान भोलेनाथ महादेवको उपासना गर्नुपर्छ । यो व्रत जम्मा १९ वटा शनिबारसम्म लिने मान्यता छ ।

प्रतिक्रिया