‘नागरिकको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ’

नेपालखोज २०७८ असोज १६ गते १४:२६

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले मन टुटेका र नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् ।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा नेता थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए । कांग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने बताए । ‘आज जसरी चलेको छ यसले यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,’ उनले भने ।

नेता थापाले कांग्रेसभित्र शुद्धीकरण आवश्यक भएको पनि बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । ‘कांग्रेसभित्र ठूलो सुदृढीकरण र सुधारको खाँचो छ,’ उनले भने, ‘हामीलाई चाहे खुलामञ्च, सडक तथा संसद् वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरुको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ ।’

नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिस्ट र मधेसवादी दलहरु मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न उनले आग्रह गरे । ‘यो अधिवेशन सकिएपछि हामीसँग संगठन बनाउन ६/७ महिना बाँकी रहन्छ,’ उनले भने ।

प्रतिक्रिया