अबको निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउनु पर्छ : सहमहामन्त्री महत
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।
शनिवार नेपाली कांग्रेस बुढानीलकण्ठ नगरसमितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सहमहामन्त्री डा. महतले सो कुरा बताएका हुुन् । उनले अहिले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको भए पनि यो विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरुको गठबन्धन सरकार भएकोले प्रधानमन्त्रीले फुकीफुकी कदम चाल्नु परेको बताए ।
उनले अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकोले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । कांग्रेसका सहमहामन्त्री डा. महतले बर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको भयबाट मुक्ति दिने र पूर्ववर्ती सरकारले खल्बल्याएको वैदेशिक सम्बन्धलाई सुमधुर बनाउदै देश र जनताको हितमा काम गरिरहेको बताए ।
सत्ता साझेदार दलहरुको घुर्की, धम्की, अनुनय र विनयका आधारमा चल्ने सरकारबाट नेपाली कांग्रेसले लिएका नीति, कार्यक्रम र लक्ष्यहरु हासिल हुने गरी सरकारले काम गर्न नसक्ने स्पष्ट पार्दे सहमहामन्त्री डा. महतले आउने निर्वाचन जितेर एकल सरकारमार्फत आफ्ना कार्यक्रम लागू गर्न तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।
प्रतिक्रिया