उद्योग परिसंघद्वारा ‘औद्योगिक अवस्थिति प्रतिवेदन’ सार्वजनिक

काठमाडौं । प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले पहिलो ‘आद्योगिक अवस्थिति प्रतिवेदन’ सार्वजनिक गरेको छ । परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले सार्वजनिक गर्नुभएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्यांक समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले कुल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।
प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ रहेको बढेको देखाएको छ । तर, त्यस अघिको वर्षको चौथो त्रैमासमा भने उद्योगको आय ४.७ प्रतिशतले ऋणात्मक थियो । प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड १९ को महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको देखाएको छ ।
अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औषतमा ८.३ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औषतमा ७.४ प्रतिशत, उत्पादनमूलक उद्योगले औषतमा ७.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औषतमा ८.४ प्रतिशत ब्याज तिरेका छन् । उत्पादनमूलक उद्योगहरुले आफ्नो चालु पुँजीको ६६.१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी भएका मध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् ।
यसैगरी ६९.७ प्रतिशत उद्योगहरुले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसले उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा पौडेलले निजी क्षेत्रले गरेका यस्ता अध्ययनले अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ भन्ने यथार्थ विवरण प्रस्तुत गर्ने बताए ।
यसैगरी निजी क्षेत्रबाट आउने यस्ता प्रतिवेदनले निजी क्षेत्रले कसरी काम गरिरहेको छ भन्ने जानकारी सरकारलाई दिने उल्लेख गरे । उनले प्रतिवेदनको निरन्तरताका लागि आग्रह पनि गरे ।
प्रतिक्रिया