विश्व बसोवास दिवस भोलि मनाइँदै

नेपालखोज २०७८ असोज १७ गते १४:५३

काठमाडौं । ‘तीव्र सहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व बसोवास दिवस मनाइने भएको छ ।

नेपालमा पनि भोलि (सोमबार) यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी दिएको हो ।

कार्यक्रममा विश्व बसोवास दिवस २०७८ मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले विश्वका अधिकांश देशहरुले बजेटको ठूलो हिस्सा शहरीकरणमा खर्च गर्दै आएको सन्दर्भलाई मध्यनजर गर्दै विभागले दिगो विकास लक्ष्यको लक्ष्य ११ ले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको र लक्ष्य १३ ले जलवायु परिवर्तनलाई मुख्य मुद्दाको रुपमा समेटेको बताए ।

उनले यस वर्षको नाराले शहरको बनावट, भवन तथा पूर्वाधार निर्माण, सवारीसाधन व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन लगायतका कार्यहरु गर्दा दिगो शहरीकरण र दिगो विकासलाई ध्यानमा राखी न्यून कार्बन उत्सर्जन हुने वातावरण मैंत्री विकासका क्रियाकलापहरु मध्यनजर गरी दिगो शहरी विकासका मुद्दालाई समेट्ने बताए ।

नेपालको संविधानले हरेक नागरिकहरुलाई स्वच्छ र स्वस्थ वातावरणमा बस्न पाउने हक दिएको उल्लेख गर्दै विभागले यसको लागि आफू लागि परेको बताएको छ ।

विभागले यसै सम्बन्धी केन्द्रित रहेर सोमबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आधा दिने कार्यशाला गोष्ठी गर्ने बताएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रमद्वारा सबैको लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने लक्ष्यसहित हरेक वर्ष ४ अक्टोबरको पहिलो सोमवार विश्व बसोवास दिवस मनाइने गरिन्छ ।

प्रतिक्रिया