एक व्यक्ति दुई पटकभन्दा बढी कार्यकारी पदमा उम्मेद्वार बन्न नपाइने

काठमाडौं । एमालेमा एक व्यक्तिले दुई पटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पनि दुई पटक भन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए ।
उनले एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको पनि जानकारी दिए।यस्तै उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताए ।
त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरेका छन् । पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले एमालेको सरकार ढाल्न सारा शक्ति लागेको आरोप लगाउँदै सरकार ढाल्न जो-जो लागे ती सबै शत्रु भएको बताएका छन् । एमालेको सरकार उनले कुस्ती खेलाडीलाई विपक्षीले अलिअलि प्रहार गरेन भने जीतको रणनीति बनाउन गार्हो हुने भन्दै अब एमालेले सशक्त रणनीति बनाउने पनि अठोट व्यक्त गरे । जितेर सरकारमा गएकाले फेरि पनि जितेरै सरकारमा जाने उनको दृढता छ ।

प्रतिक्रिया