जनकपुर बम काण्डका दोषी सञ्जयको सजाय अदातलले उल्ट्यायो, जन्मकैदलाई ७ वर्षमा झार्ने आदेश
काठमाडौं । जनकपुर बम बिस्फाटको घटनाका दोषी जन्मकैदको सजाय काटिरहेका सञ्जय साहको सजायलाई जनकपुर उच्च अदालतले उल्ट्याएको छ ।
दश वर्ष अघि जनकपुरधामको रामानन्दचोकमा पाँच जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनामा सञ्जय दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका थिए ।
उच्च अदालतले आइतबार राती जन्म कैदको सजायलाई उल्ट्याउँदै सात वर्षमा झार्ने फैसला सुनाएको हो । उक्त घटनाको मुख्य योजनाकार सञ्जय साह भएको ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्व सांसद समेत रहेका साहलाई जन्मकैदको सजाय सुनाएको थियो ।
२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नाका क्रममा भएको बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए । रामानन्दचोकको बमकाण्डपछि भारतमा लुक्दै आएका साहलाई प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरेर ल्याएको थियो ।
हाल ललितपुरको नक्खु कारागारमा रहेका साहको मुद्धा जिल्ला अदालतबाट उच्च अदालतमा पुगेको थियो । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले आइतबार राति जन्म कैदलाई घटाएर सात वर्षमा झार्ने फैसला गरेको हो ।
साहलाई जनकपुरकै सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्यामा पनि दोषी ठहर गरिएको छ ।
प्रतिक्रिया