क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु विडम्बना !

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताए ।
सोमवार (आज) नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै उनले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताए ।
उनले पार्टीका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटि निर्णय भएको भन्दै डेमोक्रेटिक पार्टी नेपाली कांग्रेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको बताए ।
उनले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको पनि बताए । नेता सिंहले पार्टीका केही व्यक्तिहरु पार्टी भित्र भएका अन डेमोक्रेटिक कुराहरुको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताए ।
नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो गरे । उनले १३ औं महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४ औं महाधिवेशनपछि सुधार गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया