सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा सहमति

नेपालखोज २०७८ असोज १९ गते १५:२९

काठमाडौं । सत्ता गठबन्धन दलहरुबिच बल्ल आएर मन्त्रालयको भागबण्डा मिलेको छ । मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसले ७ तथा गठबन्धनका अन्य दलहरुले ५/५ मन्त्रालय लिने गरी सहमति जुटेको स्रोतको दाबी छ ।

शेरबहादुर देउवाले प्रधानमन्त्री बनेको ८५औं दिनमा गठबन्धनबीच मन्त्रालयमा भागबण्डाको कुरा मिलेको हो । सहमतिसँगै एक दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । शेर बहादुर देउवा प्रधानमन्त्री बनेको लामो समयसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै चौतर्फि आलोचना भइरहेको छ ।

स्रोतका अनुसार भौतिक पूर्वाधार मन्त्रालय जसपाले, शिक्षा तथा विज्ञान प्रविधि र वन मन्त्रालय पनि जसपाले, नेकपा (एस)ले शहरी विकास, उद्योग वाणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ र ऊर्जा मन्त्रालय यसअघि नै पाइसकेको माओवादी केन्द्रले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी मन्त्रालय पाउने मोटामोती सहमति भएको छ ।

गृह, परराष्ट्र र कानून मन्त्रालय पाएको कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने सहमति भएको छ ।

प्रतिक्रिया