शनिबार, जेठ ५, २०८१

प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

नेपालखोज २०७८ असोज २० गते ८:५१

जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदै छन् । सत्तारुढ दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार नै उनले आज विश्वासको मत लिन लागेका हुन् ।


आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिनेछन् । हाल सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको अवस्था छ ।

गत भदौ ९ गते महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले अलग्गै पार्टी दर्ता गराएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपरेको हो । विश्वासको मत लिनका लागि मुख्यमन्त्री राउतले एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेको थिए ।

अघिल्लो बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले समेत असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।

हाल प्रतिपक्षमा रहेका नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टीले भने प्रदेशसभा बैठकमा अवरोध गर्ने तयारी गरेको जनाइएको छ । यी दुई दलबाहेक अन्य दलको समर्थन मुख्यमन्त्रीलाइ रहेकाले सजिलै विश्वासको मत पुग्ने आकलन गरिएको छ ।

प्रतिक्रिया