सभापति पद छाड्दिनँ : सिंह

नेपालखोज २०७८ असोज २० गते १३:१२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपालि आफू पार्टीको सभापति पद नछाड्ने बताएका छन् । उनले जसरी भए पनि यसपालि आफूले सभापति पदमा उम्मेद्‌वारी दिने बताए ।

कांग्रेस नागार्जुन नगर समितिले आज आयोजना गरेको कार्यक्रममा उनले २०७२ मा भएको १३औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको बताए ।
‘अहिलेसम्म काठमाडौंबाट पार्टी सभापति को भएको छ ?’ उनले प्रश्न गरे, ‘के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

उनले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखापरेको पनि बताए । पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको उनको दाबी थियो । ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नुभएन,’ नेता सिंहले भने ।

जनताले खोजेजस्तो नेपाली कांग्रेस १४औं महाधिवेशनपछि आउने सिंहको भनाइ थियो । उनले आफूलाई सभापतिमा सहयोग गर्न पनि सबैमा आग्रह गरे । ‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर मै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ ।’

आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको पनि उनले बताए । ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्‍यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुपर्‍यो। पार्टी संस्थागत गर्नुपर्‍यो । जनतालाई सहयोग गर्नुपर्‍यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु छैन ।’

उनले पार्टीमा यतिका वर्ष काठमाडौंबाहिरका नेताहरू सभापति भएको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए । ‘यतिका वर्ष काठमाडौंबाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने ।

प्रतिक्रिया